Pages

पश्चिम सुर्खेत को सडक





 पश्चिम सुर्खेत को सडक पुर्वाधार निर्माण गर्न नसक्ने असक्षमता लाई इंगित गर्दै  जनताले दिइरहेका केहि प्रतिक्रियाहरु:


 -पश्चिम सुर्खेत को रोड -स्वर्ग जाने बाटो 

 - भेडा जनता का भेडा लिडर भएपछि यस्तै हो

 - पश्चिम सुर्खेतको बाटो पिच बनेको दिन पश्चिम बाट सुर्य उदाउंछ

 - पश्चिम सुर्खेत विकास नगर्ने नेता जन्माउने ठाउँ मात्र हो 

- हाम्रा नेताबाट सडक पिच हुन्छ भन्नु नपुंसकको बिहे गर्दिएर , सन्तान प्राप्ति को आशा गर्नु जस्तै  हो।

 

पश्चिम सुर्खेत बाट उच्च तहमा पुगेका मुख्य लिडरहरू:


भुतपुर्व 

शिवराज जोशी :यातायात मन्त्री 

नर बिष्ट : सांसद

स्व: तप्त बिष्ट: संचार राज्यमन्त्री

नवराज रावत: स्वास्थ्य राज्यमन्त्री


वर्तमान 

बिन्दमान बिष्ट : प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री

पुष्पा घर्ती: प्रदेश उपसभामुख 

यज्ञ वि.सी.: प्रदेश सामाजिक विकास मन्त्रि

नन्दा शर्मा : राष्ट्रिय सभा सांसद

नर बिष्ट : राष्ट्रिय सभा सांसद (फेरि )

छविलाल सिग्देल : जि.स.स. अध्यक्ष


उहांहरू पश्चिम सुर्खेत को अहिलेसम्म का उच्च नेतृत्व मा पुग्न सफल उच्च व्यक्तित्व होइबक्सिन्छ।जो पश्चिम सुर्खेत  कै बाटोमा घच्याङघुचुङ यात्रा गरेर नेतृत्व को माथिल्लो तहसम्म पुगिसक्नु भयो । अन्य क्षेत्रमा उहांहरुले पुर्याएको योगदान केकस्तो छ त्यसको मुल्यांकन जनताले गरेकै होलान्।अहिले चैं सानो छंदा सामाजिक विषयमा विकासको पुर्वाधार भनेर घोकेको सडक तिर केन्द्रीत रहौं।

सडक ,सडक ,सडक भन्दाभन्दै पश्चिम सुर्खेतका जनता थाकिसके,तर अवस्था उस्तै छ । नेतृत्व कर्ता भन्न सक्लान् अन्य क्षेत्रको विकास गर्दागर्दै  ठिक्क भो सडक निर्माण तर्फ ध्यान केन्द्रित विस्तारै हुंदैछ ,तर हाम्रो प्रश्न छ तपाईंको बुबालाई झाडापखाला लागेको  छ र तपाईंलाई कपाल झर्ने रोग छ भने पहिला आफ्नो बुबाको उपचार गर्नुहुन्छ या आफ्नो कपालको सर्जरी गर्नुहुन्छ?तपाईं ले महत्व का आधारमा बजेट नल्याउने या ल्याईहाले पनि बजेटको कार्यान्वयन गर्न नसक्नु सांच्चै यो के को संकेत हो?

हुन त एलेन मस्कले मंगल ग्रहमा बस्ति बसाउने तयारी गर्दै छन्।चिनले कृत्रिम सुर्य र चन्द्रमा बनाइसकेको छ। मरूभूमि को देश दुबईले बुर्ज खलिफा बनाइसकेको छ।तर विचरा हाम्रो देश?आफैं महसुस गर्नुहोस् कति पछाडि छ।


देशको कुरा छोडौं,एकचोटि हाम्रो ठाउंको कुरा गरौं।

सानैमा एउटा गित सुनेका थियौं,"झल्ल लाली ओठको  गाडि चल्यो मोटर सर्रर जुम्ला कालिकोट को।" राज्यले विकट देखेका जुम्ला कालिकोट मा वर्षौं पहिले कर्णाली राजमार्ग पुगिसकेको छ।जहां विद्युत् को राष्ट्रिय प्रसारण लाइन पनि धेरै पहिले पुगिसकेको छ।सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी हो ।

दस वटा जिल्लाको केन्द्र विकासका हिसाबले अरु जिल्ला भन्दा केही फरक होला भन्ने सबैको मन मस्तिष्कमा होला । तर विडम्बना प्रदेशको राजधानी सुर्खेत विकासको हिसाबले विरेन्द्रनगर नगरपालिकाले ओगटेको  क्षेत्र भित्र मात्रै सिमित छ । सुर्खेतको पुर्वी क्षेत्र छिन्छु जाजरकोट सडक भएर जाने भएकोले यहाँ सडक कालोपत्रे छ । विकासको प्रमुख  पुर्वाधार सडक हो । सडकलाई विकासको मेरुदण्ड पनि भनिन्छ तर पश्चिम् सुर्खेतमा भने सुर्खेत जुम्ला सडकको पहुँच  बराहताल गाउँपालिकाको बड्डिचौर सम्म मात्र छ । बड्डिचौर देखि लगाम जोड्ने पश्चिम् सुर्खेतको सडक स्तर उन्नति नहुदा यस क्षेत्रका नागरिकहरु असाध्यै पिडामा रहेका छन । बाह्रै महिना सडकमा पानी, खोला तथा साँघुरो सडकले आवतजावतमा समस्या भैरहेको छ । विरेन्द्रनगर देखि गुटु सम्म दुरिका हिसाबले करिब ६० किलोमिटर मात्रै टाढा छ । तर गाडीमा यात्रा गर्दा कहिले काहीं दिनभरी लाग्ने गरेको यात्रुहरु बताउछन् ।  यश क्षेत्रका नागरिकहरुले बारम्बार सडकको स्तरउन्नतिको आवाज उठाउदा पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । मदन भण्डारी मार्ग नामकरण गरिएको उक्त सडक राजनैतिक दलहरुको भजाई खाने भाडो समेत बनेको छ । चुनावमा हामीलाई भोट दिनुहोस् हामी यो सडक कालोपत्रे गर्छौ भन्ने नेताहरु अहिले गुमनाम् छन । 

वीरेन्द्रनगर संग तुलना हामी गर्दैनौ ,लाज लाग्छ।एउटै स्तरको पुर्वि सुर्खेत ले सडक पुर्वाधार निर्माण मा ठुलो फड्को मारिसकेको छ।अब कुरा गरौं पश्चिम सुर्खेत को। जहां न पक्कि सडक पुगेको छ न विद्युत् को राष्ट्रिय प्रसारण लाइन। कसैले घर कता हो भनेर सोध्यो भने पश्चिम सुर्खेत मा हो भन्न लाज लाग्छ, अप्ठेरो मानेर भनिसकेपछि प्राय: ले सोध्ने गर्छन्," त्यहां को बाटो पिच भयो कि नाईं?,म त एकचोटि गएर फेरि कहिल्यै त्यो बाटो हिंड्दैन भनेर कसम खाएर आएको छु।, तिमिहरु कस्ता नेतालाई भोट दिन्छौ हं?, जनता भेडा भएपछि यस्तै हो " आदि इत्यादि ।

 यश क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरु थुप्रै पटक माननीय देखि  मन्त्री समेत बनेका छन । विगतमा धेरै समय केन्द्रिय राजनीतिको वरिपरि रहेका नेपाली  काङ्ग्रेस नेता शिवराज जोशि ०४८,०५१,२०५६ सालमा गरि तीन पटक यस क्षेत्रबाट जिते धेरै पटक मन्त्री समेत बने । त्यस् बेला पश्चिम् सडकको सामान्य ट्राक खोल्ने बाहेक अरु केही भएको देखिएन । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्रको तर्फ बाट नरबहादुर बिष्ट बिजयी भए । संविधान सभा बाट संविधान बनाउने मुख्य कार्यभार पाएका बिष्टको कार्याकालमा न संविधान बन्यो न सडक बन्यो, यिनै बिष्ट माघ १२ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका छन ।

 २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता स्व. तप्तबहादुर बिष्ट निर्वाचित भए । आफ्नो कार्याकालमा कर्णाली नदि र भेरी नदिमा पक्की पुल बनाउन पहल गरे । धेरै पुल त बने तर सडक बनेन ?

 दोस्रो संविधान सभा बाट संविधान बन्यो । देशमा संघीयता लागू भयो । ७ प्रदेश र ७७ जिल्ला भए । ०७४ सालमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र बीच चुनावी तालमेल भयो । प्रतिनिधि सभामा एमालेको तर्फबाट नवराज रावत र प्रदेश सभा (ख) मा माओवादी केन्द्रको तर्फबाट बिन्दमान बिष्टले जिते ।रावत १८ महिना स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री समेत बने । उहाँको कार्यकालमा एउटा गतिलो काम पनि देखिएन, अझै सडकको हालत त उस्तै छ ।

 कर्णाली प्रदेशको सरकारमा प्रतिनिधित्व गर्दै बिन्दमान बिष्ट अहिले अर्थ मन्त्री छन । उनको कार्याकालमा पश्चिम् सुर्खेतको सडकले निकास पाउछ कि भन्ने सबैले आश गरेका छन । यदि मन्त्री बिष्टले पनि केही गर्न सकेनन् भने “यो सडक चुनावमा राजनैतिक दलहरुको भजाई खाने भाडो हुने निश्चित छ ।”






अब हामी जनता चैं गर्ने के? पांच वर्षभित्र सडक पुगाउंछु भनेर चुनाव जितेका नेताहरु ले चार वर्ष सम्म नगरेको काम चार महिना मा गर्लान् त।अब आशा गरौं,दबाब दिऔं । कोसिस गरौं।भएन भने के गर्ने ,त्यो पनि सोच्दै गरौं।अन्यथा नेता परिवर्तन होलान्, हाम्रो ठाउंको दर्दनाक स्थिति परिवर्तन हुने वाला छैन।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्






No comments:

Post a Comment