महिनौको प्रतिक्षा पछि क्यालेन्डर मा टिक लगाइएको दसैं आए संगै दसैंतिहार बिदा को प्रतिक्षा समाप्त भएको छ ।यहि दिन को प्रतिक्षा पछि प्रतिक्षालय मा गाडिको प्रतिक्षा गरिरहेको छु ।पढ्न , ठुलो मान्छे बन्न आंकाक्षा बोकेर हिँडेको म भन्ने मान्छे आज सहरबाट केवल सफलताको प्रतिक्षा बोकेर घर फर्कंदै छ।
जिवनका अनगिन्ती परिक्षा दिदै , परिक्षाफल को प्रतिक्षा गर्दै र नतिजाहरू आएसंगै लड्डु खिलाउने सपना चकनाचुर पार्दै सहरमा भोकै सुतेर सुनौलो बिहानिको प्रतिक्षा गर्दै बितेका दिनहरू सम्झिन्छु।सोच्छु, यो नेपालि टाइम भन्ने चिज बस लाई प्रतिक्षा गर्न मात्र नभएर जिवनमा आनन्द ले बस्ने दिनको प्रतिक्षा गर्ने कुरामा पनि लागू हुंदो रहेछ । मलाई सानोमा ठुलो उमेरको प्रतिक्षा गर्ने मन लाग्थ्यो ,अहिले चैं ठुलो भएसंगै धानका बोटजस्तै बढ्दै गएका जिम्मेवारी ले गर्दा होम ट्राभल भन्दा पनि फेरि बालापनमा ट्राइम ट्राभल गर्ने यातायात को साधन प्रतिक्षा गर्ने मन लाग्छ।
प्रतिक्षा पश्चात् उहि घर पुगाउने बस नै आउंछ, चढ्छु। दुवै सिट खाली भएको ठाउँमा बसेर एउटा सिट खालि छोड्छु र कोहि भेटिदिए यात्रा रमाइलो हुन्थ्यो सोचेर कसैको प्रतिक्षा गर्छु।मैले प्रतिक्षा गरेको विपरीत मुखमा खैनी च्यापेको रक्सिको गन्हाउने एक मान्छे छेउमा बस्छन्।म प्रतिक्षा गरेको भन्दा बिल्कुलै फरक पाएको आफ्नो प्रेमि सम्झिन्छु। लामो प्रतिक्षा गरेर पनि एकैछिनमा हराइहाल्ने दृश्य हरू जस्तै मेरा प्रतिक्षा को अवमूल्यन गर्दै पलभरमै हराइजाने सम्बन्धहरू सम्झिन्छु ।
क्याबिनको छेउमा प्रतिक्षा लाई बसाएर गाडि चलाउन भन्दा गफ गर्न ध्यान केन्द्रित गरेका ड्राइभर दाईलाई देख्दा देश चलाउने नेताहरु ले गर्दा देशमा हुने दुर्घटना सम्झिन्छु । गाडिमा चढिरहेको यात्रु भन्दा लामो प्रतिक्षा पछि गाडि देखेर रमाइरहेका केटाकेटि देख्दा आफ्नो बालापन सम्झिन्छु। चेकपोष्ट चेकिङ गर्नका लागि प्रतिक्षारत प्रहरी देख्दा बेलाबखत चेक गरिरहने आफन्त सम्झिन्छु।
सम्झिने/सोच्ने क्रम रोकिदैन।बिग्रेको बाटोमा उफ्रिएर टाउको ठोक्किंदा मन झसंग हुन्छ र कतै मस्तिष्क मा कल्पित स्वर्ग/नर्कमा कालले प्रतिक्षा त गरिरहेको छैन सोच्छु।
यस्तै प्रतिक्षा गर्दागर्दै यात्रा जारी छ ..।सोच्छु ,आखिर मा जिवन भन्नु नै प्रतिक्षालय रहेछ।एकपछि अर्को को प्रतिक्षा गर्दागर्दै जिवन प्रतिक्षा मै बित्ने रहेछ। प्रतिक्षा को फल मिठो हुन्छ त भनिन्छ तर लामो प्रतिक्षा गर्दा गर्दै नै फल नमिठो भइसक्छ ।प्रतिक्षा गरिरहेको समयमा प्रतिक्षा गरिएको चिज प्राप्त गरेको स्वाद मिठो जरूर हुन्थ्यो ,तर प्रतिक्षा को घडि समाप्त भइसकेपछि पाएको फल खासै मिठो चैं हुंदैन होला। मैले पाउने प्रतिक्षा को फलको प्रतिक्षा त मेरो कुनै स्पर्मको परमाणु ले गरिरहेको होला ।यसैले प्रतिक्षा बेक्कार छ तर अफसोच जिवन नै प्रतिक्षा हो।
प्रतिक्षा जारी रहन्छ। यसलाई पढिसकेपछि तपाईं को प्रतिक्रिया के छ म फेरि प्रतिक्षा मा छु 😊
-लोकराज रहस्य
(२०७८/०६/२१)
Facebook profile link of writer 👇
https://www.facebook.com/lovelyboy.lokendra.5
No comments:
Post a Comment