![]() |
| Karnali Highway Condition |
नेपालको सबैभन्दा लामो राजमार्ग कुन हो? तपाईंको मस्तिष्कमा उत्तर आउनेछ -कर्णाली राजमार्ग।तर वास्तवमा यो सहि उत्तर हुनै सक्दैन किनभने नेपालको सबैभन्दा लामो राजमार्ग कर्णाली राजमार्ग हो। कर्णाली राजमार्गको सडकको एक किलोमिटरमा हजारको साटो दश हजार मिटर हुन्छ। कर्णाली राजमार्गमा घडिको सुई पनि ढिलो चल्छ।यो सबै हुनु पछाडिको कारण हो - असहजता। तपाईंलाई पक्कै थाहा होला असहज अवस्थामा मिनेटको सुई पनि कैयौं घन्टाको सुईजस्तो लाग्छ । असहज अवस्थामा दिन हप्ता हुन्छ, हप्ता महिना हुन्छ अनि महिना वर्ष हुन्छ।कैयौं मोडहरु, खाल्डाखुल्डीहरू, प्रायजसो ग्राभेल सडक र पटकपटक आइरहने पहिरोले गर्दा कर्णाली राजमार्गम पुर्व -पश्चिम महेन्द्र राजमार्ग भन्दा लामो हुन जान्छ।भ्यु टावर देखि हेर्दा कर्णाली राजमार्ग छोटो देखिन सक्छ,तर एकचोटी यात्रा गरेर हेर्नु होला निकै लामो लाग्नेछ यो राजमार्ग।
कर्णाली राजमार्ग जस्तै लामो छ हामी नेपालीको औषत आयु । पक्कै पनि हामी नेपालीको आयु विकसित देशको आयु भन्दा धेरै नै छ। मलाई लाग्छ,नेपालीहरू एकदमै बढि बांच्छन् किनभने कठिन परिस्थितीमा समय लामो हुन्छ। फिनल्याण्ड, नर्वे,चिन,जापान जस्ता विकसित देशहरूमा मानिसहरूको जिवन छोटो छ किनभने उनिहरु खुसि र सुखी छन।सुख र खुसीको समय त सांच्चिकै छोटो हुन्छ।पिच रोडको फराकिलो सडकमा कारमा चढे जस्तो छ उनिहरूको जिवन , जहाँ समय छोटो लाग्छ।तर नेपालीको जिन्दगी भने ठ्याक्कै कर्णाली राजमार्गमा यात्रा गरेजस्तो छ,कठिन छ त्यसैले त लामो छ। जसकारण कर्णाली राजमार्गले पुगाउने कर्णालीका गाउंमा अधवैशे महिलाहरु कुरिरहेका हुन्छन् वृद्धभत्ता पाउने समय। परिस्थितिले जिवन यति लामो बनाइदिएको छ कि , कहिले बुढेसकाल लाग्ला भनेर प्रतिक्षा गर्नुपरेको छ। सांच्चै कर्णाली राजमार्ग लामो छ ।यसै गरी लामो छ नेपालीको जिवन। विकसित देशवासीको लागि घन्टाको सुई हामी नेपालबासीको मिनेटको सुई बराबर हुन्। हुम्लाको भिरमा भारी बोकिरहेको एक नेपाली र बुलेट ट्रेनमा हेडफोन लडाएर यात्रा गरिरहेको एक युरोपेलीको लागि घडिको सुई एउटै हुनै सक्दैन ।
खाल्डाखुल्डी, भिरपाखा , खोलानालाले गर्दा होला कर्णाली राजमार्गमा हरेक किलोमीटरमा पटक पटक जोखिम मोल्नुपर्दछ । कर्णाली राजमार्ग निकै सांघुरो छ ।माफ गर्नुहोला यसलाई राजमार्ग पनि नभनौं,यो एउटा सिपाही मार्ग हो।राज मार्ग त यस्तो पक्कै हुंदैन होला। कर्णाली राजमार्ग त लगभग हामी नेपालीको सांघुरो सोच जत्तिकै सांघुरो छ। कर्णाली राजमार्ग को सांघुरो जस्तै सांघुरो छ हामी नेपालीको सोचको दायरा। हामी नेपाली लिंग,जात, पार्टी,धर्म आदि कुरामा निकै सांघुरो सोच्छौं।हामी देशको झन्डा भन्दा फलानो पार्टीको झण्डा समात्दा बढि प्रफुल्लित हुन्छौं। हामी नेपाली भन्दा गौरव हुंदैनौ,तल फलानो जातको भनेपछि आत्मियता महसुस गर्छौं। हामी धर्मलाई शास्वत् प्राकृतिक नियमको रूपमा लिंदैनौ अनि पालना गर्नुपर्ने कुराहरु पालना गर्दैनौ तर साम्प्रदायिक धर्म विरूद्ध कसैले केहि भनेपछि गाली गर्न हतारिन्छौं। अर्थात् धर्म रक्षा गर्न हामी धर्मकै नियम मिचिदिन्छौं। पुरूषलाई पुरूष हुनमा घमण्ड छ, महिलाहरूलाई दबाइराख्न चाहन्छन् अनि महिलाहरूलाई अर्को जुनिमा पुरूष हुने इच्छा छ।विभिन्न राजनैतीक परिवर्तन आए ,तर हामी अझै उस्तै । हामी नेपाली सबैकुरा आफु अनुकुल व्याख्या गर्छौँ र आफैलाई अब्बल ठान्छौ।तर हामीले आफूलाई जे ठान्छौं के त्यस्तै गरी विश्व मञ्चमा हामी नेपालीलाई विश्वले हेर्दे गरेको छ त?सांच्चै भन्ने हो भने हामी नेपाली जनजिवनको को दृष्टिकोण फराकिलो हुन सकेन।अनि कर्णाली राजमार्ग पनि फराकिलो हुन सकेको छैन। कर्णाली राजमार्गमा परिवर्तनको लागि पटक पटक बजेट आउंछ ,तर अझै उस्तै छ। हामी नेपाली पनि ठ्याक्कै उस्तै।
कर्णाली राजमार्ग जहाँ खाल्डाखुल्डी र घुमाउरो मोडहरु प्रशस्तै छन्।धुलो उडिरहेको कारण आकृतिहरू अस्पष्ट छन्।यहि राजमार्ग हुंदै हाट झरेर युरोपका सात सेन्जेन देश भौतारिसकेपछि टुंगो नलाग्दा एक नेपालीले कर्णाली राजमार्गको जोखिमपूर्ण 'सातमोड' सम्झन्छ।अमेरिकामा पचास लाख तिरेर तिरेर गएको एक नेपालील 'यस' बाहेक केहि भन्न कर्णाली राजमार्गको 'यस्' मोड सम्झिन्छ। कर्णाली राजमार्ग जसरी बगाइरहेछ आंशु र पसिनाको कर्णाली, त्यसरी नै साउदी, मलेसिया र भारत तिर छिरेका नेपालीहरू बहाइरहेछन् आंशु र पसिना । सबैले सोच्दैछन्, कर्णाली राजमार्ग र हामी नेपालीको जिवन यात्रा लगभग उस्तै उस्तै छ। सांच्चै भन्दैछु ठ्याक्कै कर्णाली राजमार्ग जस्तै छ ।
नेपालको जिन्दगी,जहां ठेगानाको किलोमिटर देखिने कुनै सुचना छैन। ड्राइभरहरू संग पनि कहां पुग्ने ठेगाना छैन। कतिखेर गाडि नै बिग्रिएर चालकहरुले दुख पाउनेछन्,भर छैन।न बाटोमा रिपेयरिङ्ग सेन्टर छन्,न त ड्राइभरहरू संग गाडी बनाउने सिप नै छ।यहां कुनै चिजको ठेगाना छैन।तिरेको भाडा वापत् को सेवा कहिले लिन पाउने ,केहि अत्तोपत्तो छैन। कर्णाली राजमार्गमा स्पस्ट मार्गदर्शन नभए झैं ठ्याक्कै नेपालीको स्पष्ट भविष्य छैन। स्पस्ट गन्तव्य छैन। जहां दोबाटोहरू छन्। नेपालीको जिवन आउने दोबाटो जस्तै। त्रिभुवन विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने दुई बाटो जस्तै । कर्णाली राजमार्ग जस्तै नेपालीको जिवन असहज भएपनि कर्णाली राजमार्ग र नेपाली जनजिवन दुवैले संभावना पनि बोकेका छन्। कर्णाली राजमार्ग मार्फत् स्वर्गकि अप्सरा 'रारा ' जान सकिन्छ।यहि राजमार्ग मार्फत् पुग्न सकिन्छ पवित्र तिर्थस्थल -'छायांनाथ र चन्दननाथ '।हो यहि राजमार्गले पुर्याउंछ नेपाली भाषाको जननी -'सिंजा'।यहि राजमार्ग मार्फत् पछ्याउन सकिन्छ कर्णाली नदिको मुहान।अथाह संभावनाले भरिपूर्ण कर्णाली राजमार्गमा हाम्रै कारणले संभावनाहरुको उच्चतम् सदुपयोग हुन सकेनन्। ठ्याक्कै नेपाली जनजीवनको सुखि र समृद्ध हुने उच्च संभावना भए पनि सदुपयोग गर्न नसकेर कर्णाली राजमार्ग जस्तो जिवन जिउनु पर्यो। नेपाली राष्ट्रिय क्रिकेट टिमको जस्तो सामुहिक कार्य, गौतम बुद्धको जस्तो विशाल हृदय,भक्ति थापाको जस्तो आंट लिएर साधन स्रोतको सदुपयोग गरेर नेपाली जनजिवनले सगरमाथाको उचाई जस्तै उच्च समृद्धि हासिल गर्न सक्थ्यो।हेरौं, लगभग उस्तै कर्णाली राजमार्ग र नेपालीको जिन्दगीमा परिवर्तन देख्न कहिले पाइन्छ?
-Lokraj Acharya

No comments:
Post a Comment