Pages

कोरोना महामारी मा योगको महत्व

 

हजारौ वर्ष पहिले देखि हजारौँ परिभाषाहरू र हजारौँ  विधिहरू रहेका कारण योगलाई शब्दमा परिभाषित गर्न कठिन छ  तापनि योग शब्द 'युज्' धातुबाट बनेको कारण यसको सरल  अर्थ जोड्नु भन्ने हुन्छ। दु:ख बाट मुक्ति प्राप्त गरेर प्रकृति एवम् परमात्मा सँग जोडिनु योगको गहिरो अर्थ हो।यसको लागि ध्यान र साधना मार्फत् चित्त र शरीर लाई शुद्वीकरण गरि  मस्तिष्कका साँघुरा दायराहरू तोडेर आफु सिंगो अस्तित्वको एक अंशको रूपमा रहेको बोध गरिन्छ ।तर अहिले प्राय मानिसहरूले योगलाई स्वस्थ, खुसि र तनावरहित जिवन बाँच्नका लागि आवश्यक क्रियाकलापको रूपमा बुझ्दछन्।यस्ता क्रियाकलापहरूमा   योगासन, प्राणायाम र ध्यान पर्दछन् तर ध्यान ले चाहिँ केहि कम स्थान पाएको देखिन्छ।यसको कारण  पश्चिमाहरूले योग लाई योगा बनाएर योग जस्तो महाज्ञान लाई केहि साँघुरो बनाएका छन्। समग्रमा शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग हो ।

योग सर्वकालिन विषय भएकाले भविष्य मात्र नभएर योगको इतिहास पनि अनन्त छ।मानव सभ्यता विकास भएदेखि मानव सभ्यता रहुञ्जेल सम्म योग  रहिरहनेछ।विगतमा शिव, कृष्ण, अष्टावक्र, वेदव्यास, पतञ्जली, बुद्व, महाविर, ताओ, नानक, ओशो, विवेकानन्द आदि   सबैले योग नै सिकाएका थिए  । बुद्वको विपश्यना होस् या  शिवको विज्ञान भैरवतन्त्र होस् ।ओशोको सक्रिय ध्यान होस् या महर्षि पतञ्जली को अष्टाङ्ग योग होस्। योग को नाम लगेर होस् या त नलगेर होस्,  सबैले योग को विधि नै सिकाए ।अहिलेको समयमा पनि विभिन्न आध्यात्मिक सम्प्रदायका गुरूहरूले योग र ध्यानका का विभिन्न विधिहरू सिकाइरहेका छन्।उदाहरणको लागि रामदेव,सद्गगुरू, श्री श्री रविशंकर,विकाशानन्द, एल्. पी. भानु शर्मा, रमेश नेपाल आदि।

योगका विधि जस्तै  महत्व र उपयोगीता पनि अनगिन्ति छन् ।योगका फाइदाहरू कतिपय विज्ञान ले सिद्व गरिसकेको छ भने कतिपय सिद्व गर्ने क्रममा छ।योग प्रत्येक मनुष्यलाई, हरेक समय र परिस्थितिमा उपयोगी र अपरिहार्य आवश्यकता हो जुन आवश्यकता  श्वास फेर्नु, खानु जत्तिकै महत्वपुर्ण हुन्छ। योग एक किसिमको अनुभूति र रूपान्तरण पनि हो, जुन हरेक उमेरसमूह, रोगी र निरोगी सबैका लागि आवश्यक छ ।योगको प्रवर्धक पतञ्जलीले योगको लक्ष्यलाई 'हेयम् दु:खम् अनपातम्' अर्थात् दु:ख आउनुभन्दा अगाडी नै यसलाई रोक्नु  भनेका छन्।उदाहरणको लागि मानिलिउँ रोगलाग्नु भन्दा रोग लाग्न नदिनु योगको लक्ष्य हो।

अहिले वर्तमान विश्व कोभिड -19 भाइरसले आक्रान्त छ।दिनप्रतिदिन  फैलिरहेको यस भाइरसको कारण करोडौँ मानिस भाइरस संक्रमित भएका छन् भने लाखौँ मानवहरूले देहत्याग गर्नुपरेको छ। सबै मानिसहरूको महामारीले जीवनशैली प्रभावित बनाएको छ । क्वारेन्टाइनमा बस्दा शरीरले आवश्यकताभन्दा बढी विश्राम पाएको छ । निष्क्रिय जीवन, असन्तुलित खानपान, तनाव र एन्जाइटी बढ्नु यतिवेला सामान्यझैँ बनेका छन् ।एकपछि अर्को गर्दै कोभिडको नयाँ भेरिएन्टहरू देखिरहेका कारण भाइरस रोकिने छाँटकाँट पनि छैन ।यसलाई पुर्ण निको पार्ने औषधि बनिसकेको छैन र परिक्षणको क्रममा रहेका भ्याक्सिनको प्रभावकारिता मा पनि प्रश्न चिह्न खडा भइरहेको छ। यस विषम परिस्थितिमा कोभिडबाट बच्नको लागि योग नै एक सर्वोत्तम् विकल्प हो।

योगमा गरिने विभिन्न शारीरिक एवम् स्वासप्रश्वास सम्बन्धि क्रिया ले शरीर स्वस्थ राखेर रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छन्।
विभिन्न आसन र कसरतहरूले शरीरमा रक्सञ्चार प्रणाली व्यवस्थापन गर्छन् र शरीर तन्दुरूस्त राख्छन्।त्यस्तै  प्राणायमले ले शरीरमा अक्सिजनको आपुर्ति मात्रा बढाउँछ ।योगप्रकृया को परिणामस्वरूप शरीरका चक्र मा रहने विभिन्न ग्रन्थिहरू सक्रिय हुन्छन् र निश्चित किसिमको रसायन निकाल्दछन्।यस्ता रसायनले मानिसलाई बलवान्, साहसी, प्रेममय, विनम्र, दयालु, बुद्विमान् बनाउने गर्छ।


त्यस्तै योग को अर्को नाम वा एउटा अङ्ग ध्यानले मानिसलाई सुख र दु:खको चिन्ताबाट मुक्त गराई आनन्द र शान्तिको अनुभुति गराउँछ जसकारण भाइरसको डर, त्रास बाट मुक्त गराएर आत्मबल उच्च गराउँछ। हरेक ध्यान प्रकृयामा हुने निश्चित शर्त र नियमले  मानिसलाई एउटा अनुशासन को दायरामा बाँध्न सिकाएको हुन्छ जसले दैनिक जिवनयापन र साधना को लागि आधारस्तम्भको रूपमा काम गर्छ।यसरी शील पालना  गरेको मानिसले सरकारको नीतिनियम लाई आफ्नो कर्तव्य पालना गरेर बस्न कुनै अप्ठेरो हुँदैन।होस र जागरूकता सहितको यस मानसिक स्थितिमा मानिस भाइरस बाट भयरहित हुन्छ भने अर्को तर्फ यसबाट बच्न होसियारिका साथ स्वास्थ्य सुरक्षा मापदण्ड पनि अपनाइरहन्छ।भिड भन्दा पृथक यस्तो मान्छे लकडाउनको समयमा घरमै एकान्त बस्न उकुसमुकुस मानेर बाहिर कदापि दौडदैन र यस कठिन परिस्थितिलाई अवसरको रूपमा लगेर खुसि खुसि क्षण बिताइदिनसक्छ।साथै  हृदयमा भएको  प्रेम, भक्ति र समर्पण ले उसलाई  विनम्र, दयावान् बनाएर  एकअर्कालाई सहयोग नगरी नहुने भावको सिर्जना गरिदिन्छ।


जब मानिसहरूले घर-घरमा योग गर्नेछन् अनि मात्र कोभिड-19 सँग हाम्रो वियोग हुनेछ।योगले  जागरूकता मार्फत्  मानिसलाई होसियार बनाएर भाइरसलाई दुई  मिटर  नजिक आउनै दिने छैन।आइहाल्यो भने पनि रोगप्रतिरोधात्मक क्षमताले कोभिड लाई परास्त गरिनेछ जसरी  ऋषिमुनिहरू(पोजेटिभ इनर्जि)ले राक्षसी शक्ति(नेगेटिभ इनर्जि)लाई परास्त गरिदिन्थे।संयोगवश् कोरोनाले अस्पतालको बेडमा अन्तिम श्वास लिने अवस्थामा पुगायो भने पनि योगको गहिराई मा पुगेको मानिसले मृत्यु भ्रम हो भन्ने बुझिसकेको हुनेछ र एक योगीको जसरी हाँसिहाँसि आफ्नो संसारयात्रा लाई बिदाई गरी महापरिनिर्वाण हासिल गर्नेछ।


No comments:

Post a Comment