Pages

कागज

 

कविता:कागज

जन्मिएपछि ज्योतिस ले
चिनाको कागज लेखिदियो,
बनाइदियो सरकारी कार्यालयले
जन्मदर्ताको कागज
अनि बिस्तारै बन्दै गए
विद्यालय भर्नाका कागज
नतिजा कागज
पाएका  पुरस्कारका कागजहरू
विभिन्न तालिमहरूका  कागजहरू
प्रेमिकाहरूका प्रेमपत्रका कागजहरू
नागरिकता को कागज
जागिर आवेदनका लागि
बायोडाटाका कागज
बेरोजगारी फर्मको कागज
अनि भविष्यको सपनाहरू
मस्तिष्कको कागजमा कोर्दै
रूपैयाँ नामको कागज कमाएर
घरजग्गा लालपुर्जा को कागज पाउन
बनाउनै पर्यो पासपोर्टको कागज

हो साँच्चि
म को हुँ मलाई थाछैन
म के उदेश्यले
किन आएँ
कहाँबाट आए
र कहाँ जानेछु
मलाई थाहा नै छैन
अरूले कुनै कागजमा
लेखिदिएको नामबाट
बनेका थुप्रै
मेरो भनिने नामका कागजहरू
नभएछि
मेरो अस्तित्व छैन यो संसारमा
तर नभए पनि म
कागज को अस्तित्व त रहिरहन्छ होला
जसरी हरिलाल मरेको
पाँचौ वर्षभइसक्दा पनि
पाइरहेको छ वृद्वभत्ता उसको कागजले
जसरी चम्पकलाल मरेको
दश वर्ष पुग्दा पनि
बनिरहेको छ डिम्याट खाता

यसरी जन्मदर्ताको कागजदेखि
मृत्युदर्ताको कागज नपाउञ्जेलको
यो मान्छेको जिवन
मान्छेभन्दा पनि
मान्छेद्वारा निर्मित
कागज नै शक्तिशाली रै छ
यदि हैन भन्नुहुन्छ भने तपाईँ
आफ्नो नामका सबै कागजहरू
 जलाएर साबित गर्न सक्नुहुन्छ
तपाईँ को हो भनेर?




No comments:

Post a Comment