Pages

Why I was born?

मिश्रित पानी पनि सेतो रङ्गको हुन्छ । जीवन पनि पानी जस्तै  हो । जस्तो रङ्गमा रङ्गाउन चाहनुहुन्छ त्यस्तै बन्छ । 

कस्तो बनाउने जीवन ? त्यो अरूमा होइन, त्यसको साँचो आफैंमा हुन्छ । सपना देख्ने खुबी मानिसमा छ भने, पूरा गर्ने क्षमता पनि उसमा निहित हुन्छ ।      

एक खुट्किला अगाडि बढौं, अनि अर्को पनि बढाऊँ, फेरि पनि बढाऊँ पाईलाहरू– शिखर नभेटेसम्म । थाकेपछि हैन, यात्रा सकेपछि मात्र विश्राम लिऊँ । कहाँ पुगिँदैन र जीन्दगीमा ! पुग्ने ठाउँ तय गरौं, अठोट गरौं र यात्रा निरन्तर अघि बढाऊँ । 

दृष्ट्रिबिहीन हँुदाहँुदै होमरले इलियड र ओडेसीजस्ता महाकाव्य लेखे । कुँजो स्टिफन हकिङले ब्ल्याक होलको रहस्य खोले । गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने । थर्डडिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्वले श्रद्दा गर्ने  नेता बने  । मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै प्रसिद्ध  वैज्ञानिक बने । दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति बने । घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने । पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने । खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन् ।

निरन्तर यात्रा र महान संकल्पले मनिसलाई उदाहरणीय बनाउँछ ।  यी उल्लेख गरिएका ब्यक्तिहरूको सफलता प्रकृतिको कुनै संयोग होइन । संयोग कुनै एकलाई हुन सक्ला तर यस्ता हजारौं उदारहरणलाई हैन । तपाईंमा पनि त्यो महापुरूष बन्ने क्षमता निहित  छ । 

उप्काउनुहोस् क्षमतालाई  । भत्काउनुस् आफैं भित्रका आलस्यका सीमानाहरूलाई ।  सुत्ने कोठाको भित्तामा टाँस्नुहोस्, त्यो संकल्पलाई । अनि अहिल्यै कसम खानोस माटोको । एकदिन मैले पूरा गरेको त्यो संकल्प लाखौंका लागि प्रेरणा बन्न सक्छ । राम्रा र महान् व्यक्तिसितको उठबस मात्र संगत होइन । 

महान सफलताका पुस्तक, सकारात्मक व्यक्तिहरूको भनाई, प्रेरक लेखको अध्ययन र मनन, सकारात्मक विचारका कृति अवलोकन, मन , शरीर र आत्मालाई आनन्द दिने योग, ध्यान र चिन्तन, सात्विक भोजन आदि पनि संगतकै अर्को पक्ष हो । हरेक जन्मको खासकारण हुन्छ । तपाईंको अस्तित्व यो धर्तीमा रहनुको पनि  कारण छ ।

मोतिझैं चम्कन्छ फूलमा शित बनेर पानीको थोपा  । कालो  दाग पनि सुहाउँदो आभुषण बन्छ, चन्द्रमाको सुन्दरतामा । यो सबै संगत कै फल हो । जस्तोसंगत, उस्तै रङ्ग । बुद्धको सङ्गतले अङ्गुलीवालाजस्तो हत्यारा पनि सिद्धपुरूष  बन्न सक्छ । हिलोको गन्धले भरिएको तलाउ पनि शोभायमान बन्छ, कमल मुस्कुराउँदा । राम्रो ब्यक्ति, व्यवहार र विचारको स्पर्षले जीवन पनि स्वादिलो बन्छ ।

कारणको खोजी अहिल्यै गर्नुस् र जन्मको सार्थकतातर्फ पाईला चाल्नुहोस् ।

जसरी जन्म दिनको शुभकामना, अघिल्लो दिन वा भोलिपल्ट दिँदा  अर्थहीन हुन्छ, त्यस्तै तपाईंको शरीरलाई समयको बहावले मक्काउन नपाउँदै आजै महान गन्तव्य तय  गर्नुहोस । जीवनका दूई दिनहरू महत्वपूर्ण हुन्छन् । ती हुन्, जन्मेको दिन र अर्को, जन्मको कारण थाहा पाएको दिन । पहिलो महत्वपूर्ण दिन त तपाईंले थाहा पाईसक्नुभो अब दोस्रो महत्वपूर्ण दिनको खोजमा लाग्नुहोस् । 

आफूभित्र निहित क्षमतालाई लोककल्याणका लागि जन्म दिन सक्नु नै जीवनको सार्थकता हो । वाशिङटन इर्भिनले भनेका छन्, ‘महान मान्छेहरू अठोट र संकल्प गर्छन्,र सामान्य मान्छेहरू केवल कामना राख्छन् ।’ तपाईंको हरेक जन्मदिन नयाँ   संकल्पका साथ जीवनलाई उर्जा दिँदै  वेहोसीबाट ब्युंझिने  मुहुर्त  बन्न सक्नु पर्छ । नशा पिएर वेहोसमा मातिने बहानको दिन बन्नु हुन्न । अरूको जन्म दिनको निम्तो मान्न गएको दिन, आफ्नो जीवनको संकल्पको कति पूरा भो ? अब त एक÷एक गरेर धर्तीमा रहने दिन छोटिँदै छ भनेर झट्का लाग्नेदिन बन्नु पर्छ ।   

सारा गिरी खुसीमा भन्छिन्, ‘पानीको बिचमा तेलको थोपाझैं जीवन बिताउनु पर्छ । सांसारिक मोहमा  डुब्दाडुब्दै पनि त्यसबाट अलग रहेर बाँच्न सिक्नु पर्छ । जस्तो परिस्थिति आउँछ, हामी बगिरहनुपर्छ, पानी जस्तै । ताल, खहरे र नदी बनेर । समुद्र भेटियोस् वा नभेटियोस्, यात्रा रोकिनु हुन्न ।   लामो जीवन हुनै  पर्छ भन्ने हैन, धेरै जन्मदिन मनाइरहनै पर्छ  भन्ने  छैन । बरू थोरै दिनको भए पनि महान जीवन बाँचौं ।  

दलाई लामाले भनेका छन्, ‘प्रसन्न रहनु नै जीवनको लक्ष्य हो ।’ यस्तै प्रसन्नताको बिच बाटै एक महान जीवनको सुत्रपात गर्न  सकिन्छ । जीवनको अर्थ भेट्नु भएन भने सधैं सूर्यलाई हेर्नुहोस्, स्वीकार गर्नुहोस्, उसको अगुवाईलाई । 

तपाईं प्रसंशक  बन्नुहोस्, त्यो प्रकृतिको राजाको । तपाईं पनि प्रेरणा लिनुस् सूर्य बाट । र, प्रकाश छर्नुस् जीवनको कुनै एक कल्याणकारी क्षेत्र चुनेर । सूर्यबाट प्रेरणा लिन सक्नु भएन भने रुखलाई हेर्नुस्, प्रेरणा लिनुस् ।

जीवनका  चरम गर्मी, काठयाग्रिंदो जाडो, आँधि र हुरीमा पनि कटिवद्ध उभिएर संसारलाई झरिमा ओत र गर्मीमा छाँया दिइरहने छु भनेर । रुखबाट पनि प्रेरणा मिल्न नसके फूललाई हेर्नुस् । छोटो जीवन बाँचे पनि काँडा बिच मुस्कुराउँदै सुवास छरिरहनेछु । प्रेरणा लिन टाढा पुग्नै पर्दैन । 

हिन्दिमा उखान छ, ‘मन चङ्गा त  लोटा मे गंगा ।’ कसैले दोष थुपार्छन् , मेरो खुटा तान्नेहरूले प्रगति गर्नै दिएनन् भनेर । स्व पिताश्री  शिवप्रसाद सापकोटा ज्यू भन्ने गर्नु हुन्थ्यो, ‘दशैं वा कुनै पर्व पारेर शत्रुकोमा आशीर्वाद थाप्न जानु । उसले दिएको राम्रो आशिशले तपाईंलाई विजयतर्फ लैजान्छ ।’

तपाईंलाई निकै रिस उठेको व्यक्ति छ भने उसको जन्म दिनमा भलिभाँती शुभकामना पठाउनुहोस् । यसबाट उसलाई मित्र बन्न करै लाग्छ । क्षमा दिनुहोस्, उसैको जन्म दिन पारेर । क्षमादान वीरहरूको गुण हो । अब्राहम  लिंकन भन्छन्, ‘म शत्रुलाई सखाप पार्न शत्रुता गर्नेसँग मित्रता गाँस्छु ।’

दुश्मन हैन, दुश्मनी  मेटाऔं । प्रेम मौलाउँदै जान्छ ।  घृणा, संकुचन बनेर सकिन्छ ।

जीवन धन्य बनाउन राम्रो संगत, महान संकल्प, प्रेम र सत्विकताको बाटो रोजौं ।    यी शब्दहरू पढ्दै गर्दा एकैछिन आँखा चिम्लेर संकल्प  गरिहाल्नुस् ।  म पनि अरू जत्तिकै महत्वपूर्ण मानिस हूँ । मसँग मेरो आफ्नै विचार, भावना तथा मूल्य मान्यताहरू छन् ।  मसँग धेरै राम्रा गुणहरू छन्, जुन मैले मेरो र अरूको भलाइको लागि प्रयोग गर्न सक्छु । साथसाथै मसँग एउटा राम्रो र छुट्टै व्यक्तित्व छ । म बाँचेको सुन्दर  कहानी भोलिको पुस्ताले प्रेरणाका लागि खोजेर पढ्नै पर्ने  जीवन जीउने छु । Thanks for Study

2 comments: