Pages

अब घरमै बसेर पनि अध्ययन गर्न सकिने -खुल्ला विश्वविद्यालय

/  
विभिन्न देशहरुमा खुला विश्वविद्यालय ७० को दशकको सुरुदेखि नै सञ्चालनमा आए पनि नेपालमा भने केहि वर्ष यता देखि सुरू भएको छ।
पढाई खर्च पुग्ने पैसा र समय भएरपनि नियमित कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षौंदेखि पढाइ छुटेकाले जुनसुकै स्थानबाट आवेदन दिइ अब घरमै अध्ययन गरेर पीएचडीसम्मको डिग्री लिन पाउने सुविधा प्राप्त भएको छ । विश्वविद्यालयले आउँदो हप्ता आवेदन खोल्ने भएको छ ।
विश्वविद्यालयका कुलपति प्रा. डा. लेखनाथ शर्माले १७ गतेको प्राज्ञिक परिषदको बैठकपछि भर्ना आवेदन खोल्ने बताए ।
नेपालमै पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब इन्टरनेटको माध्यमबाट अध्ययन–अध्यापन गराई डिप्लोमादेखि पीएचडीसम्मको डिग्री दिने छ । खुला विश्वविद्यालयको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, पोस्टग्रयाजुएट, मास्टर्स, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
अहिले पाठ्यक्रम बनाउने काम भैरहेको र अनलाइनबाट एक महिनाभित्र भर्ना गर्न सकिने कुरा समेत उनले बताए ।
कस्ता विद्यार्थी भर्ना हुन पाउने 
१२ कक्षा पास भएकाहरु उक्त विश्वविद्यालयमा भर्ना हुन पाउनेछन् । www.nou.edu.np वेवसाइटमा गएर भर्नासम्बन्धी सम्पूर्ण जानकारी लिन सकिन्छ । रजिष्टे«सन, एडमिसन सबै अनलाइनबाटै गर्न सकिन्छ वा मानभवन लपलतपुरस्थित विश्वविद्यालयमा गएर पनि गर्न सकिनेछ ।
“खुला शिक्षा भनेपछि जो सुकैले जे पनि पढ्न पाउँछु भन्ने हुन्छ,” कुलपति शर्मा भन्छन्, “अहिले व्यवस्थापन, कानुन संकाय, सामाजिकशास्त्र तथा शिक्षा संकाय स्थापना हुने छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइनेछ,” उनले भने, “विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुनेछन् । यसमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’ का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । तर यसका लागि केही समय लाग्नेछ ।”
कसरी हुन्छ पढाइ
कुलपति शर्माका अनुसार पढ्ने सामग्री वेवबेस्डमा हुने र त्यहीँबाट विद्यार्थीले पढ्न सक्ने बताउँछन् ।
सुरूमा वेलकम भन्ने पेज खुल्नेछ त्यसमा प्रारम्भिक जानकारी प्राप्त गर्न सकिन्छ । कोर्ष, कोर्षको विषयवस्तु र कोर्षको बारेमा विषयगत प्राध्यापकको भिडियो समेत हुनेछ । भिडियोमा कोर्षको बारेमा सम्पूर्ण जानकारी हुन्छ । ‘सिलेवस’ पनि त्यहीँ हुन्छ । पढाइ सुरु गर्दा विक वन, विक टु भनेर सेक्सन छुट्याएर कक्षा सुरु हुन्छ ।
यस्ता सेक्सन १६ वटा रहेका छन्पू भने पूरा कोर्ष १६ हप्तामा विभाजिन गरेर पढाइने छ । फेसबुकमा जस्तै कमेन्ट लेख्ने ठाउँ हुन्छ जसमा प्रश्न गर्न सकिन्छ भने हप्तामा दुई दिन प्राध्यापकहरूसँग प्रत्यक्ष कुरा गर्न समय मिलाइन्छ । त्यसबाहेक कुरा गर्नु परे लेखेर सञ्चार गर्न सकिन्छ ।
कोर्षको सात वटा ‘एलिमेन्ट’ तयार पारेको बताउँदै कुलपति शर्मा भन्छन् त्यसमा सिकाइका विषयबस्तु, सिकाइको उद्देश्य, साधन, क्रियाकलाप, कसरी कुराकानी गर्ने, प्रतिक्रिया कसरी गर्ने भन्ने जानकारी हुन्छ । विद्यार्थीले पढेको पाठको कार्य गर्न लगाउने र उक्त कार्य नगरेसम्म दोस्रो पाठ हेर्न नपाउने गरि विषयवस्तु डिजाइन गरिएको छ ।”
पढाईको गुणस्तर सुधार्न भर्चुअल मोड प्रयोग गरिनेछ, जस्तै म्यानेजमेन्ट थ्योरी पढाउनु पर्यो भने सेन्टरबाट एकजना प्राध्यापकले पढाउनेछन् । मुख्य केन्द्र सातवटा हुनेछ जसबाट अध्ययन लगायतका विषयमा जानकारी दिनेइनेछ । मानौं, आज तीन बजेदेखि ५ बजेसम्म कुनै प्राध्यापकको लेक्चर छ भनेर सूचना दिइनेछ विद्यार्थी त्यहाँ सहभागी हुन्छन्, प्रश्न सोध्नेछन्, नबुझेको पुनः सोध्ने र अभ्यास कार्य गर्नेछन् ।
कसैले तोकिएको समयमा कक्षा लिन नभ्याएको खण्डमा भने पढाइ भएको विषयवस्तु र शिक्षकको भिडियो सबै रेकर्ड भएर अर्काइभमा गएर बस्नेछ । समय मिलेको बेला अर्काइभमा गएर त्यो लेक्चर सुन्न सकिनेछ ।
व्यवस्थित सिकाइका लागि हप्तादिनमा पढ्ने, असाइन्मेन्ट, भिजुअल क्लास तोकेर तालिका बनाइनेछ । लिखित र प्रयोगात्मक परीक्षा भने विश्वविद्यालयले तोकिएको केन्द्रमा नै सञ्चालन हुने कुलपति शर्मा बताउँछन् । उनले राज्यले स्वीकृति दिए राजदूतावाससँग कुरा गरेर विदेशमासमेत अध्ययन केन्द्र खोल्न सकिने बताए ।
वेभमै किताब र नोट
हाल त्यो चलाउने अभ्यास भइरहेको शर्मा बताउँछन् । उनले सिकाइको व्यवस्थापन प्रणाली पनि वेवसाइट, लाइब्रेरी, ई–लाइब्रेरी लयागत कोर्षबुक र नोटहरु सबै वेभमै उपलब्ध हुने जानकारी दिए ।
समूह–समूहमा पढाउने र समूह अनुसारको ‘प्रोजेक्ट वर्क’ पनि वेभसाइटबाटै जानकारी गराउने र पीएचडीको सुपरभिजन पनि यही मोडमा गरिरहेको उनको भनाइ छ ।
के हो त उद्देश्य ?
व्यवस्थापिका संसद्बबाट पारित भएको नेपाल खुला विश्वविद्यालयको विधेयक ०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । ऐनमा प्रविधिमा आधारित खुला एवम् दूरशिक्षाको माध्यमबाट स्वःअध्ययन सिकाइ पद्दतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पुर्याउने उल्लेख छ ।
विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्नेछ ।
विश्वविद्यालय अन्तर्गत तीन वटा डीनको कार्यालय रहने छ । सो अन्तर्गत विभिन्न स्कुलहरु जस्तै स्कुल अफ सोसल साइन्स तथा बीचमा आनवश्यता अनुसार विस्तारै थप्दै जाने कुलपति शर्माले बताए । टेक्निकल, भोकेस्नलको पार्ट पनि यसमै राख्दै, विद्यार्थी संख्या र प्रोगाम अनुसार फ्याकल्टी र विषय बढ्दै जाने उनको भनाइ छ ।
विद्यार्थीको माग अनुसार साइन्स, टेक्नोलोजी, आइटी वा अन्य विषयमा पढ्ने रुचि देखाएअनुसार व्यवस्था गरिनेछ । खुला शिक्षा अन्तर्गत शिक्षाशास्त्र पढ्नेले आज म्यानेजमेन्ट पढ्न मन लागे परितर्वन गर्न मिल्ने तयारी रहेको शर्माले बताए । तर यसका लागि आवश्यक न्युनतम योग्यता भने पुगेको हुनुपर्नेछ ।
कति शुल्क लाग्नेछ ?
कुलपति शर्माले शुल्कका सम्बन्धमा निर्णय हाल कुनै पनि निर्णय नभएको तर अनुमानित चार वर्षे कोर्षको ६० हजार हुनसक्ने बताए । “विश्वविद्यालयका लागि सुरुको अवस्थामा कम्तिमा ८० प्रतिशत लगानी राज्यले गरोस भन्ने हाम्रो आग्रह हो । २० प्रतिशत विद्यार्थीबाट उठाउने सोच छ,” उनले भने, “जब विद्यार्थीसंख्या बढ्छ हामीले विद्यार्थीको अध्ययन शुल्क घटनाउँदै जाने नीति बनाएका छौं । तर अहिले पनि अन्य विश्वविद्यालयकोभन्दा हाम्रो शुल्क माथि जाने छैन ।”
चुनौती
शर्माले खुला विश्वविद्यालय सञ्चालनमा चुनौती पनि रहेको बताए । अनलाइनबाटै कक्षा सञ्चालन गर्नु पर्ने भएकाले यो नै सबैभन्दा ठूलो समस्या हो । “टेक्नोलोजी प्रयोग गर्नुपर्छ ।
इन्टरनेटको पहुँचको समस्या छ र पुगेको ठाउँमा महँगो छ । सरकारले मोवाइल डाटमा विद्यार्थीलाई केही सहुलियत दिनुपर्नेछ,” शर्मा भन्छन्, “सबै जनशक्ति ई–लर्निङ्ग, भर्चुअल मोड र स्मार्ट प्रविधिबारे खासै जानकार हुँदैनन् । उहाँहरुलाई सक्षम बनाउने चुनौती छ । हामी त्यो कोर्षसँगै सिकाउँदै लानेछौं । हामी जे दिन्छौं गुणस्तरीय शिक्षा दिने तयारीमा छौं ।”

No comments:

Post a Comment